किरात राई जातिको सुप्तुलुङ चुला स्थापना

सुप्तुलुङ चुला स्थापना
किरात राईहरूले आफ्ना पित्रीहरू बस्ने स्थानको प्रतीक स्वरूप तीनवटा ढुंगाको चुला आफ्नो घरमा स्थापना गर्ने प्रक्रियालाई ‘साम्खा’ राख्ने पनि भनिन्छ । जसलाई ‘सुप्तुलुङ’ वा चुला भनी मानिन्छ । घर बनाइसकेपछि त्यहाँ चुला गाडिन्छ र त्यस पछि साम्खा राख्नु पर्दछ । नयाँ चुला स्थापना गर्दा सो काम “रिदुमी मुन्दुमी” अर्थात् ज्ञानी मानी नाक्छोङ÷माङपाले नै गर्नुपर्ने हुन्छ भने चुला स्थापना गर्नको लागि पनि उभौली (दोङवाङा) वैशाखे पूर्णिमा, नयाँ चलाउने ‘चाछुवा÷चाछोङ्वा’ (असोज पूर्णिमा) र उधौली (दोङदावा) मंसिरे पूर्णिमाको अवसर पारेर मात्र गर्ने गरिएको पाइन्छ । यो आगो बाल्न र पकाउनको लागि मात्र नभएर किरात राई जातिको चुला महत्वपूर्ण सांस्कृतिक पक्ष र मान्यतासित पनि सम्बन्धित छ । चुला मूल थाम ‘छुमासुङ’को पछाडि पट्टि अन्दाजी १ ह १ हात वर्गाकारको अगेनामा स्थापना गरिन्छ । चुला राख्दा तल एउटा चप्लेटी ढुंगा ‘थुङ्मएलुङ’ र वरिपरि चारैतिर लाम्चो चप्लेटी ढुंगा ‘चुप्तालुङ÷बारालुङ’ ले चारकुने पारेर तयार पारिएको हुन्छ । चारकुने आकारको अगेनाभित्र तीनकुने आकारमा तीनवटा चुला ढुंगालाई बराबर दुरीमा छुट्याई दिवालुङ (पुर्खा)÷तायालुङ (बुद्धिजीवि)÷रुथुलुङ (समाज) मानिने चुलाढुंगालाई ‘व्योवाकेप’÷‘दाहोननाम्पे’ (इशान) दिशा, रुङरीलुङ(शक्ति)÷छेन्बीलुङ (धनसम्पत्ति)÷छेकुलुङ (छोरीचेली) मानिने चुलाढुंगालाई ‘चेवाकेप’÷‘युहोनानादेङ’ (नैऋत्य)  दिशा र सावालुङ (सन्तान)÷चासुमलुङ(अन्नसह)÷रुमीलुङ (भद्रभलादमी) मानिने चुलाढुंगालाई ‘छोबुसुवाकेप’÷‘युहोन नाम्पे’(आग्नेय) दिशामा पर्नेगरी बराबर उचाइमा स्थापना गर्दछन् । अर्थात् तीनवटा चुलाढुंगाको बीचमा रहेका खालिठाउँ दाउरा लगाउनको लागि उपयुक्त हुनुपर्छ भने बराबर उचाइले भाँडा बसाल्न पनि उपयुक्त हुनुपर्दछ । यो ज्यामितीय विज्ञान पनि किरात राई जातिको मुन्दुमी (शास्त्र) सत्य हो । बान्तावा राईहरूको रिदुम मुन्दुम (ज्ञान दर्शन) मा भनिन्छ – ‘हेन्खामा मात्दुङलो हाङछामुलुछा छाङ मात्दुङ’ अर्थात् ‘पृथ्वी छैन त मानव जाति पनि छैन वा रहँदैन’ ।


    अगेनामा भार ः

 चुलाको ठीक माथि टाँड र भार झुण्ड्याइएको हुन्छ । भारको विशेष दुई खण्ड हुन्छ तर कसै कसैले बीचमा एउटा सानो फुर्लुङ पनि ठूलो भार मुन्तिर झुण्ड्याएको हुन्छ । सबभन्दा माथि ठूलो भार हुन्छ जसलाई ‘दाङहेन’ भनिन्छ । जसमा धनुकाँड, ठोक्रो, चिण्डो आदि राखिन्छ । अगेनामाथिको टाँडमा चाहिँ आलो मासु÷माछाको सिल सुकाउन प्रयोग गरिन्छ र सुकुटी बनाई सञ्चित पनि गरिन्छ । टाँडमाथि सरङ राखी अन्नपात सुकाई खानपिनको निम्ति तयार गर्न पनि सकिन्छ ।
  
चुला स्थापना गर्दा पूजामा चाहिने सामग्रीहरु ः 
चामल–आरावा, केरोको पात–तुप्ला, अदुवा–बेछुक, धान–चामाचाम, कोदो–साम्पिचा, मर्चा–बोप्खा, चोखोपानी–सोनालुङ चाअ्वा, मृगको मासु÷खुट्टा–खुसा÷लाङ, पाहा–बुक्सा, जोरोमिसा–भालुको मासु, चाँदिको सिक्का–खाबा, धनु र तीर– तालि र भे, फूल–बुङ्ङा, डबका–खुङ, हाडि–बुछुकुलुक (चोखो भात पकाउने), चिण्डो – वाबुक, मटिया–तुवा, दाउरा–सुङ ।
    चोयाले बाँधी बनाएको बाँसको भाटाको चारकुने आकारको भार, चारवटा चोयाले बनाएको डोरी, एउटा चोयाले बुनेको भार, बराबर आकारमा गोलाइ, लम्बाइ मिलेको तीनवटा लाम्चो ढुंगाहरू, तीनवटा चाँदिको ढ्याके पैसा (खाबा), केराको हरियो पात वा भर्लाको पातको तुप्ला, दुईवटा चिण्डो (सोलेन्वा) (चुलाको दायाँबायाँ पारी उभ्याउनु पर्दछ ।) ढोल, झ्याम्टा, चामल, अदुवा, जाँडपानी, लिसाईलो किसिमको कालोमाटो र एउटा फूल नपारेको पोथी कुखुरा आदि सामग्रीहरू प्रयोग गर्दछन् ।
    चुला स्थापना गर्दाको पूजामा सबैभन्दा पहिले सुप्तुलुङलाई अदुवा, अछेता र जाँडपानीले चोख्याउँछन् र अदुवा, अछेता र चोखो जाँडपानीको भाग दिँदै चोखा मन्साउने गर्दछन् जसलाई “चालुक् चुम्माओ” भनिन्छ । त्यसपछि चारकुने आकारको बाँसको टाँडलाई चोयाको डोरीले चारै सुरमा बाँधी टाँडमाथि भार (दाङहेन) लगाई अगेनाको चारै सुरमा चारजना व्यक्तिहरू उभिएर आ–आफ्नो स्थानको डोरी समाई अगेनामाथि पर्ने गरी भारलाई उचाल्ने गर्दछन् । अब अगेनामा तीनकुने आकारमा इशान, नैऋत्य र आग्नेय दिशामा पर्नेगरी तीनवटा केराको पात वा भर्लाको पातको ‘तुप्ला’ बनाई प्रत्येक तुप्लामाथि एक एक वटा ढ्याके पैसा र अछेता राखी चुलाको लागि ल्याइएका ढुंगाहरूले थिचेर उभ्याउनु पर्दछ । (यहाँ पनि तीनजना व्यक्तिहरूले एक एक वटा चुलाढुंगालाई समाउनु पर्दछ ।)

No comments:

Post a Comment