किरात राईहरूको मूल थलो र बसोबास?

काठमाडौं उपत्यकामा किरात शासन अन्त भएपछि किरातहरूको मुख्य थलो धुलीखेलदेखि पूर्व किरात प्रदेश नै हुन गयो । करीब दुई सय तीस वर्ष अगाडि पृथ्वीनारायण शाहले वर्तमान नेपालको एकीकरण गर्नु अगाडि सुनकोशी नदी पूर्वतिर फैलिएको किरात प्रदेशमा किरात जातिका सुनुवार, राई, र लिम्बुहरूले राजकाज गर्दथे । किरात भित्रका राई जातिको मुख्य थलो किरात प्रदेश नै थियो ।
    बसाइ सराइको कारणले हाल किरात राईहरू विश्वको विभिन्न भाग र मुलुकहरूमा बसोबास गर्न पुगेका छन् । हाल किरात राईहरूको जनसंख्या नेपालभित्र करीब सातदेखि साढेसात लाख र नेपाल बाहिर भारत, भुटान, वर्मा, हङकङ, थाइलैण्ड, यु.के.र अन्य मुलुकहरूमा त्यसभन्दा बढी रहेको अनुमान गर्न सकिन्छ । यसरी नेपाल र नेपाल बाहिर रहेका किरात राईहरूको कुल जनसंख्या पन्ध्रलाख भन्दा बढी रहेको अनुमान गरिएको छ ।
    सन् २००१ को राष्ट्रिय जनगणनाले देखाएको तथ्यांक अनुसार सो वर्षमा नेपालमा राईहरूको जनसंख्या ६,३५,१५१ थियो जसमध्ये २,९४,३३७ अर्थात् ४६.३४ प्रतिशत संखुवासभा जिल्ला लगायत माझ किरातका भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बू जिल्लाहरूमा बसोबास गरेका देखिन्छन् । वल्लो किरातमा पर्ने तीन जिल्लाहरू दोलखा, रामेछाप र सिन्धुलीमा किरात राईहरूको जनसंख्या ५,७४८ अर्थात् ०.९ प्रतिशत मात्र देखिन्छ । पल्लो किरातमा पर्ने धनकुटा, तेह«थुम, पाँचथर, ताप्लेजुङ र इलाम जिल्लाहरूमा किरात राईहरूको जनसंख्या १४४,३१९ अर्थात् कुल जनसंख्याको २२.७२ प्रतिशत रहेको छ । पूर्वी तराइका पाँच जिल्लाहरू जस्तैः झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहामा राईहरूको जनसंख्या १२१,१५५ अर्थात् कुल जनसंख्याको २० प्रतिशत देखिन्छ । त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा २८,३२५ अर्थात् कुल जनसंख्याको ४.४५ प्रतिशत देखिन आउँछ । बाँकी करीब ५ प्रतिशत राईहरू नेपालका अन्य जिल्लाहरूमा छरिएर रहेका छन् । नेपालको पुरानो बसाइ–सराइ पश्चिमदेखि पूर्वतर्फ भएको कारणले किरात राईहरू आफ्ना मूल थलोबाट पल्लो किरात प्रदेश हुँदै भारत, वर्मा र थाइलैण्ड दुई शताब्दि अगाडिदेखि नै पुगेका भएता पनि नेपालको तराइ जिल्लाहरूमा भने सन् १९५० पछि औलो उन्मूलन भए पश्चात् मात्र व्यापक रूपले बसोबास गरेका हुन् ।

No comments:

Post a Comment