किरात राई जातिको न्वारान (नुङ पुमाओ) संस्कार

किरात राई जातिको न्वारान नुङ पुमाओ संस्कार

    सामान्यतः छोरा जन्मेको (खोलाटोला अनुसार) ४ वा ६ दिनमा र छोरी जन्मेको ३ वा ५ दिनमा नानीको नाम राख्ने र आमालाई सुत्केरीबाट चोख्याउने विधिलाई न्वारान भनिन्छ । उक्त दिन घर लिपपोत गरी सफा गरिन्छ । अनि नानी र आमालाई सुत्केरी कोठाबाट बाहिर निकालिन्छ । त्यसपछि आंगनको बीचमा राखी चारैदिशा हेराइन्छ (यसको अर्थ पित्री ‘पारुङ’लाई देखाई आशिर्वाद मागिएको) र आमाको वरिपरि दाहिने देब्रे दुवैपट्टिबाट तीन तीन पटक परिक्रमा गर्दै डाडुको धुँवा (पुत्काको मैन, मौरीको मैन, कुरिलो ‘बुङ÷टुङमा’ वा सल्लाको खोटोको धुँवा) र सातमूलको चोखो पानी काउलो, कटुस वा तितेपातीको मुन्टा (चुक्लावा)ले छर्काउँदै सुत्केरी, नानी र घर पनि चोख्याइन्छ । नानीलाई नयॉ कपडा ओडाईदिन नहुने भएकोले आमाले प्रयोग गरेको कुनै कपडाको लुगा सिलाई लगाइदिने प्रचलन रहेको छ । कोक्रो बुन्दा बाँसको बुनेमा एक घाना बाँस मात्रै प्रयोग गरी एकै दिनभित्र बुनेको हुनुपर्दछ । कोक्रो बुन्दाखेरि नानी सुत्ने तलको भागकोे आँखा गन्दा अन्तिम आँखा ‘जम’ (राजा, घर, इन्द्र, जम) नपारी बुनेको हुनुपर्दछ भन्ने भनाइ छ । त्यसैगरी राम्रो बार पारेर बुनेको नयाँ कोक्रोमा नानी सुताउनु अघि विशेष गरी वृद्धा आमाहरू (सुढेनीहरु) ले कोक्रोलाई छोरो भए भाले र छोरी भए पोथी काटेर भोग दिई रगत पारी चोख्याइन्छ । त्यसपछि छोरी भए सानो खुर्मी र छोरो भए एउटा कर्द कोक्रोको काम्रोमा सिउरिइन्छ र पहिलो पटक कुचो लगाएर बोकेपछि मात्र नानीलाई त्यस कोक्रोमा सुताई बोकिन्छ । त्यसैदिन छोरा भए कान र छोरी भए कान र कसैले नाक समेत छे‘डीदिने र धागो बाटेर हातमा चुरा र खुट्टामा कल्ली पनि लगाई दिइन्छ । आमन्त्रितजनले त्यसदिन नानीको नाम आ–आफ्नो ढंगले राखिदिने प्रचलन पनि छ । नाम राख्दा किरात राईहरूले प्रायः आफ्नै जातित्व चिनाउने गरी नाम राखिने चलन रहेको छ ।

No comments:

Post a Comment